काठमाडौं । ठूला दुई दलको सरकारले सुशासन र देशमा विकास गर्नेभन्दा पनि कमाउ धन्दालाई प्राथमिकता दिएको देखिन्छ । निर्वाचित सांसदहरूले मन्त्री बन्ने अवसर पाउँदा, जनताका कामभन्दा व्यक्तिगत स्वार्थलाई अगाडि राख्दै धन्दा चलाउने प्रवृत्ति बढेको छ । यसको पछिल्लो उदाहरण बनेको छ गृह मन्त्रालय ।
मन्त्रालयमा भएको सेटिङ र मनपरीतन्त्रले कर्मचारी व्यवस्थापनमा भद्रगोल उत्पन्न गरेको छ । मन्त्रालयको आन्तरिक सेटिङले एयरपोर्ट अध्यागमन कार्यालयमार्फत दिनहुँ सयौं नेपालीहरूलाई विदेश पठाउने प्रक्रियामा आर्थिक चलखेल भएको चर्चा छ ।
अध्यागमन कार्यालयमा पाँचदेखि सात जनाको समूहलाई विशेष पहुँचमार्फत भित्र्याएर रकम असुली भइरहेको छ । कहिले उच्च अधिकारीको आफन्त त कहिले अन्य पहुँचवाला व्यक्तिहरूको नाममा कार्य गरिन्छ ।
गृह मन्त्रालय र अध्यागमन कार्यालयमा भिजिट भिसा र अन्य भिसाका नाममा हुने सेटिङले मन्त्रालयको छवि बिग्रँदै गएको छ । सरकारका तर्फबाट यस विकृति रोक्ने कुनै प्रभावकारी कदम चालिएको छैन । एकातिर कर्मचारीको मिलेमतो, अर्कोतिर आन्तरिक सेटिङका कारण मन्त्रालय अस्तव्यस्त बनेको छ ।
गृह मन्त्रालयमा देखिएका विकृति र विसंगतिहरूले मन्त्रालयलाई ‘कमाउ केन्द्र’को रूपमा परिचित गराएको छ । यस्तो प्रवृत्तिले सरकार दिन प्रतिदिन आलोचित हुँदै गएको छ ।
गृह सचिवालय र मन्त्रालयका अन्य निकायमा देखिएका आर्थिक अनियमितताका गतिविधिहरूले सुशासनको मर्मलाई कमजोर बनाएको छ । सम्बन्धित निकायले यी विकृतिहरूलाई समयमै नियन्त्रण नगर्ने हो भने जनविश्वासमा थप गिरावट आउने निश्चित छ ।
सरकारले प्रभावकारी नीति र अनुगमनमार्फत मन्त्रालयमा हुने विकृति र आर्थिक चलखेललाई रोक्न ध्यान दिनु आवश्यक छ । अन्यथा, यस्ता घटनाले जनताको विश्वास गुम्दै जानेछ ।




