काठमाडौं । नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आइतबार सार्वजनिक गरिएको छ । घोषित नतिजा अनुसार महासंघको अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएकी छन् ।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले ४ हजार २३० मत प्राप्त गरी जित हासिल गरेका छन् । महिला उपाध्यक्षमा नितु पण्डित ४ हजार ७०५ मतसहित विजयी भइन् भने समावेशी उपाध्यक्षमा उमित प्रसाद बागचन्द ४ हजार २९२ मत पाएर निर्वाचित भए ।
महासचिवको पदमा रामप्रसाद दाहाल ४ हजार २९२ मतसहित विजयी भएका छन् । खुला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसियट सचिवमा वैकुण्ठराज पराजुली र कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।
प्रदेश सदस्यतर्फ कोशी प्रदेशबाट कमल रिमाल र शंकर खरेल, मधेश प्रदेशबाट राजु विश्वकर्मा र राजेश कुमार कर्ण, बागमती प्रदेशबाट नवराज पथिक र नारायणप्रसाद अधिकारी, गण्डकी प्रदेशबाट कृष्ण केसी र केबी राना, लुम्बिनी प्रदेशबाट रामप्रसाद पोख्रेल र विकास बन्जाडे, कर्णाली प्रदेशबाट तुलाराम पाण्डे र नगेन्द्रप्रसाद उपाध्याय विजयी भएका छन् ।
सुदूरपश्चिम प्रदेशबाट योगेन्द्र बहादुर बलायर र सुरेश पन्त, उपत्यका प्रदेशबाट अर्जुन पन्त र सूर्य सुवेदी, प्रतिष्ठान प्रदेशबाट सविता शर्मा र वीरेन्द्र ओली, एसोसियट प्रदेशबाट पवित्रा मुडभरी र मनुका कुँवर विजयी भएका छन् ।
खुला सदस्यतर्फ छविलाल तिवारी, भुपेन्द्र आचार्य, मुकेन्द प्रसाद भण्डारी, रामेश्वर कार्की र लवदेव ढुंगानाले निर्वाचन जितेका छन् । महिला मधेसी सदस्यतर्फ रुवि रौनियार विजयी भएको निर्वाचन समितिले आइतबार राति जानकारी दिएको हो ।




