काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिक फाइङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्डसहित रु ६२ लाख मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका छन् । नेपाली क्रिकेट इतिहासमा खेल प्रदर्शनका आधारमा कार जित्ने ऐरी पहिलो खेलाडी बनेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपको संयुक्त निर्णयमा उत्कृष्ट खेलाडीलाई कार प्रदान गरिएको हो । ऐरीले एनपीएलका नौ खेलमा २२७ रन बनाउनुका साथै ९ विकेट लिएका थिए । ऐरीको कप्तानीमा सुदूरपश्चिम रोयल्स प्रतियोगितामा उपविजेता बनेको थियो ।
अन्य विजेता र पुरस्कारहरू
ललित राजवंशी (जनकपुर बोल्ट्स): एनपीएलको सर्वाधिक विकेट लिने खेलाडी ललितले १७ विकेट लिएर ‘अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल’ जितेका छन् ।
सैफ अलि जैब (सुदूरपश्चिम रोयल्स): ‘सिद्धार्थ बैंक प्लेयर अफ द टुर्नामेन्ट’ घोषित जैबले २७५ रन बनाउँदै १२ विकेट लिएका थिए । उनले रु पाँच लाख नगद प्राप्त गरे ।
लाहिरु मिलान्था (जनकपुर बोल्ट्स): ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ अवार्ड विजेता मिलान्थाले ३५ चौका प्रहार गर्दै २ लाख रुपैयाँ नगद जितेका छन् । उनले एनपीएलमा कूल २९३ रन बनाएका थिए ।
जिम्मी निशम (जनकपुर बोल्ट्स): ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ निशमले २४७ रन जोड्नुका साथै ७ विकेट लिँदै रु दुई लाखको पुरस्कार पाए ।
विपीन शर्मा (कर्णाली याक्स): ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ घोषित विपीनले १३ विकेट लिँदै रु ५० हजार नगद र रु १० लाख बराबरको छात्रवृत्ति प्राप्त गरे ।
लुम्बिनी लायन्स: ‘फेयर प्ले’ अवार्ड जित्दै उत्कृष्ट खेल भावना प्रदर्शन गरेकोमा सम्मानित ।
एनपीएलको पहिलो संस्करणले नेपाली क्रिकेटमा नयाँ इतिहास कायम गरेको छ । विजेतालाई आकर्षक पुरस्कारले खेलाडीहरूलाई प्रेरित गरेको छ भने यो लिगले घरेलु क्रिकेटको स्तरलाई उच्च बनाउने विश्वास लिएको छ ।






