काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका २ कर्थली घर भई काठमाडौं नयाँ बानेश्वर बस्ने ३५ वर्षीय रमेश खड्का र नुवाकोट बिदुर नगरपालिका ३ घर भई काठमाडौं कलंकी बस्ने ३६ वर्षीया पुन्यवती जोशी रहेका छन् ।
पक्राउ मध्ये रमेशले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र पुन्यवतीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरुलाई पकाउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं महानगरपालिका ९ बाट र पुन्यवतीलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




