काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भई हल्कादेखि मध्यम वर्षा र हिमपात हुनसक्ने महाशाखाले आज जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।
बुलेटिनअनुसार शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा र गण्डकी, बागमती तथा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा र गण्डकी, बागमती, मधेस तथा कोशी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम प्रणालीको प्रभावले तापक्रम घट्न गई चिसो बढ्न सक्ने भएकाले महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायतका क्षेत्रमा असर पर्न सक्ने चेतावनी दिएको छ ।
महाशाखाले सबैलाई आवश्यक सतर्कता र पूर्व तयारी गर्न आग्रह गर्दै, विशेषगरी हिमपात र चिसोबाट प्रभावित हुनसक्ने स्थानका जनतालाई सावधानी अपनाउन अनुरोध गरेको छ ।




