काठमाडौं । वैदेशिक रोजगारका नाममा आकर्षक तलबको प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा रूपन्देही सैनामैना नगरपालिका ११ निवासी २९ वर्षीय ओम प्रकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले दक्षिण कोरिया पठाइदिन्छु भन्दै तीन जना व्यक्तिबाट १६ लाख ९२ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका २६ ठमेलबाट आइतबार पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले वैदेशिक रोजगारको नाममा ठगी गर्नेलाई कारबाही गरिने भन्दै यस्ता प्रलोभनमा नपर्न सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।




