काठमाडौं । प्रहरीले आफ्नै विभागीय संगठनको प्रहरी निरीक्षक हुँ भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ७ थापा चोकका ३८ वर्षीय सुदीप थापा हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले थापालाई शनिबार थापा चोकबाटै पक्राउ गरेको हो । उनले प्रहरीको इन्स्पेक्टर हुँ भन्दै क्यानडा, अस्ट्रेलिया लगायत देशमा पठाइदिने भनेर ठगी गरेको उजुरी परेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।
उनका अनुसार थापाले प्रहरी निरीक्षक पदको बर्दी नै लगाएको फोटो खिचेर उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क बढाएका थिए । थापाले प्रहरी निरीक्षकको नक्कली परिचय पत्र समेत बनाएको भेटिएको छ । पोशाक लगाएको फोटो चार थान बरामद गरिएको आचार्यले बताए ।
उनको साथबाट प्रहरीले विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र नै बरामद भएको आचार्यले बताए । थापाले के कति रकम ठगी गरेको भन्ने प्रहरीले यकिन गरिसकेको छैन ।
प्रहरीले थापालाई परिचय पत्र किर्ते बनाउने कार्यमा संलग्न काठमाडौं कोटेश्वर ३२ स्थित मार्सल प्रिन्टिङ प्रेसका सञ्चालक किशोरकुमार चौधरीलाई पक्राउ गरेको छ । दुबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि आइतबार जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको छ ।




