काठमाडौं । वैदेशिक रोजगारको नाममा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जनालाई सोमबार काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सप्तरी बिष्णुपुर गाउँपालिका ७ घर भएका ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखा घर भई काठमाडौं महानगरपालिका २६ सामाखुसी बस्ने ३७ वर्षीय राजेश रहेका छन् ।
पक्राउ पर्ने कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्ने प्रलोभनमा पीडितहरूबाट ७२ लाख ४८ हजार १ सय ५० रूपैयाँ र राजेशले ८ लाख ९० हजार रूपैयाँ असुलेका थिए ।
उक्त घटनाको खुलासा भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले कृष्णलाई काठमाडौं महानगरपालिका ३१ र राजेशलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।




