काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीले बुधवार बिहान ठोरी गाउँपालिकामा आतङ्क मचाएको छ । बिहान ३ बजेतिर ठोरी गाउँपालिका २ गौतमनगर प्रवेश गरेको हात्तीले चेतबहादुर बस्नेत, काजी प्याकुरेल र सीता गौतमको घरमा क्षति पुर्याएको छ ।
हात्तीले घरमा रहेको धान खाएको वडाध्यक्ष अमृतकृष्ण सापकोटाले जानकारी दिए । स्थानीयले होहल्ला गरेर हात्तीलाई भगाए पनि हात्तीले इच्छानगर क्षेत्रमा प्रवेश गरेको थियो । बिहान ११ बजेसम्म हात्ती गाउँ वरपर नै रहेको इच्छानगरका स्थानीयवासीले जानकारी दिएका थिए ।
हात्तीको गतिविधिले गर्दा नेपाली सेनाले गाउँ क्षेत्रको आवतजावतमा रोक लगाएको थियो भने सुरक्षाका लागि सेनाका सदस्यहरू जङ्गल परिसर र गाउँमा तैनाथ थिए । यसअघि पनि तीन दिनअघि अमुवा पोस्टमा तैनाथ एक नेपाली सैनिकलाई हात्तीले घाइते बनाएको थियो । उनलाई उपचारका लागि चितवन लगिएको वडाध्यक्ष सापकोटाले जानकारी दिए ।
विद्यालय बन्द
हात्ती आतङ्कसँगै जाडो मौसमको कारण ठोरी गाउँपालिकाले पुस २४ देखि माघ ४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा प्रमुख भुपालकुमार जोशीले वर्षे बिदाबाट कटौती हुने गरी १० दिनको जाडो बिदा दिएको जानकारी दिए । ठोरी क्षेत्रमा पछिल्ला केही दिनयता हात्ती आतङ्कले स्थानीयवासी त्रसित छन् । सुरक्षाका लागि थप प्रयास आवश्यक रहेको स्थानीयले माग गरेका छन् ।




