काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हालै प्रहरीका उच्च अधिकारीहरूको नाम र दर्जा प्रयोग गरी विभिन्न व्यक्तिलाई चेतावनीसहित फर्जी इमेल पठाउने कार्य भएकोप्रति सतर्क रहन आग्रह गरेको छ ।
सीआईबी प्रवक्ता दीपक राज अवस्थीले बिहीबार जारी गरेको विज्ञप्तिमा यस्ता इमेलहरू HOAX (झूटो) भएको र यस्ता मेलहरूमा कुनै प्रतिक्रिया नदिन सबैलाई अनुरोध गरेका छन् । उनका अनुसार यस्ता गतिविधिले प्रहरीको छविमा नकारात्मक असर पार्नुका साथै सर्वसाधारणलाई भ्रममा पार्ने प्रयास गरिरहेको छ ।
यसैक्रममा, Reliance Trade International को नाममा पनि फर्जी इमेल पठाइएको पाइएको छ । उक्त इमेलमा ‘Terai Online’ नामक फेसबुक पेजले तस्बिर र भिडियोहरूको अनधिकृत प्रयोग गरेको दाबी गरिएको छ । यद्यपि, ‘Terai Online’ ले कुनै सामग्री प्रकाशन नगरेको जनाएको छ । साथै, इमेल royflores34380o@gmail.com बाट पठाइएको हुँदा उक्त इमेल फर्जी रहेको पुष्टि भएको छ ।
प्रहरीले यस्ता झूटा इमेल र पोस्टहरूमा कुनै विश्वास नगर्न, सत्यता पुष्टि गर्न आधिकारिक स्रोतको मात्र भरोसा गर्न र शंका लागेमा तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ ।
सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग रोक्न प्रहरी र सम्बन्धित निकायले थप निगरानी गर्ने जनाएको छ । यस्ता फर्जी गतिविधिबाट सजग रहन सर्वसाधारणलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।





