काठमाडौं । भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लाको परधाडे स्टेशन नजिकै माघ ९ गते भएको दुखद रेल दुर्घटनामा परी सात नेपाली नागरिकसहित १२ जनाको ज्यान गएको घटना प्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उक्त घटनामा ज्यान गुमाएका नेपाली नागरिक प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गरिएको छ । साथै, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।
मन्त्रालयका अनुसार उक्त दुर्घटनामा परी ज्यान गुमाउने नेपाली नागरिकहरूमा कमला नवीन भण्डारी, लछिराम पासी, हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला कामी र राधेश्याम राध नेपाली रहेका छन् ।
दुर्घटनामा चार जना नेपाली नागरिक घाइते भएका छन्, जसमध्ये तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने एक गम्भीर घाइतेको उपचार गोदावरी अस्पताल, जलगाउँमा भइरहेको छ ।
दुर्घटनामा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन र घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न नेपाल सरकारले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौंस्थित भारतीय राजदूतावाससँग समन्वय गरिरहेको जनाएको छ ।
नेपाल सरकारले यस दुखद घटनाका पीडितहरूलाई आवश्यक सहयोग तथा सहजीकरणका लागि भारत सरकारसँग घनिष्ठ समन्वयमा काम गरिरहेको जानकारी पनि दिएको छ ।
सरकारले भविष्यमा यस्ता दुःखद घटनाको पुनरावृत्ति रोक्न सुरक्षा उपायलाई थप प्रभावकारी बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिएको छ ।




