काठमाडौं । क्रोएसिया पठाइदिने प्रलोभनमा रकम ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका २ की ४० वर्षीया लालिमाया दर्लामी पक्राउ परेकी छन् । उनी काठमाडौं महानगरपालिका ६ बस्दै आएकी थिइन् ।
दर्लामीले आकर्षक तलबको आश्वासनमा वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै एक पीडितबाट ५ लाख ७५ हजार रूपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको उजुरी परेको थियो ।
पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका ९ बाट पक्राउ गरेको हो ।
पक्राउ परेपछि दर्लामीलाई थप अनुसन्धान र कानूनी प्रक्रिया अघि बढाउन वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ । प्रहरीले यस प्रकरणमा अन्य पीडितहरू भएमा उजुरी गर्न आग्रह गरेको छ ।




