काठमाडौं । अनलाइन जुवा तथा सट्टाबाजीमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूमा रामेछाप, खाँडादेवी गाउँपालिका ९ का ४८ वर्षीय राज प्रकाश श्रेष्ठ र नुवाकोट, विदुर नगरपालिका १३ का २३ वर्षीय हरिचन्द्र भुजेल रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले Mantra108 नामक वेबसाइटमार्फत विभिन्न अनलाइन गेम्स अन्तर्गत जुवा तथा सट्टाबाजी गराउँदै आएका थिए । प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले हालसम्म २ करोड ४१ हजार ६ सय ३६ रुपैयाँ बराबरको कारोबार गरेको खुलासा भएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले प्राप्त सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद ९० हजार रुपैयाँ, ४ थान मोबाइल, १ थान कम्प्युटर सीपीयू, ५९ थान सिमकार्ड, २७ थान एटीएम कार्ड र ७ थान चेकबुक समेत बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ । अनलाइन सट्टाबाजीसँग सम्बन्धित यस घटनाले गैरकानूनी कारोबारको बढ्दो जोखिम प्रति ध्यानाकर्षण गराएको छ ।




