काठमाडौं । वैदेशिक रोजगारीमा अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका १ घर भई काठमाडौं टोखा नगरपालिका ६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ३ बस्ने ४२ वर्षीय नितेश पोखरेल रहेका छन् ।
भुवनले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १ करोड रूपैयाँ र नितेशले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भुवनलाई काठमाडौं महानगरपालिका १२ बाट सोमबार र नितेशलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ३ बाट मंगलबार पक्राउ गरेको हो ।
भुवनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र नितेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




