काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक), छाउनी काठमाडौंका शाखा अधिकृत धनेश्वर प्रसाई घुससहित पक्राउ परेका छन् । पेन्सन पट्टा (निवृत्तभरण अधिकार पत्र) बनाई दिने प्रयोजनार्थ सेवाग्राहीसँग रु. ३,००,००० (तीन लाख) घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उक्त रकम लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।
अनुसन्धानबाट खुलासा भएका तथ्यहरू
अनुसन्धानका क्रममा शाखा अधिकृत धनेश्वर प्रसाई, कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेको मिलेमतोमा सेवाग्राहीबाट रु. ३,००,००० घुस लिएको पुष्टि भएको छ ।
धनेश्वर प्रसाई र भवानी अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम दोषी ठहर गर्दै तीन लाख बिगो कायम गरी कैद र जरिवाना सजायको माग गरिएको छ ।
बिचौलिया सुदर्शन न्यौपानेलाई दफा ३(२) अन्तर्गत दोषी ठहर गर्दै उही ऐनको दफा ३(१) बमोजिम कैद र बिगो बराबर जरिवाना मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।




