काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुर्खेत गुर्भाकोट नगरपालिका २ घर भई काठमाडौं तार्केश्वर नगरपालिका नेपालटार बस्ने ३६ वर्षीय रमेश कुमार डिसी, रोल्पा गंगादेव गाउँपालिका ५ घर भई काठमाडौं महानगरपालिका ३१ बस्ने ४१ वर्षीय जै बहादुर वली र मकवानपुर थाहा नगरपालिका २ घर भई काठमाडौं महानगरपालिका २६ बस्ने ३८ वर्षीय रविन कार्की रहेका छन् ।
पक्राउ मध्ये रमेशले सिंगापुर पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, जै बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र रविनले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं महानगरपालिका ९ बाट र जै बहादुरलाई काठमाडौं महानगरपालिका ३१ बाट बिहीबार तथा रविनलाई काठमाडौं महानगरपालिका २६ बाट बुधबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये रमेश र जै बहादुरलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा रविनलाई प्रहरी वृत्त बौद्ध पठाइएको छ ।




