काठमाडौं । काठमाडौंको कलंकीमा ४ वर्षीय बालकलाई अपहरण गरी बन्धक बनाउने आरोपमा भियतनामी नागरिक Mai Hoang Kinh Laun लाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर पाटनबाट ४ वर्षीय बालक बिहीबार राति हराएको जानकारी पाइएको थियो ।
बालकको आमाले प्रहरीमा उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बालकलाई खोजतलास गर्दै कलंकीस्थित इलाम मेची गेष्ट हाउसको कोठा नम्बर १०७ मा अपहरण गरी बन्धक बनाइएको अवस्थामा बालकलाई फेला पारेको हो ।
प्रहरीले Mai Hoang Kinh Laun लाई पक्राउ गर्दा उनको साथबाट भियतनामी मुद्रा २० हजार, मोबाइल ३ थान, ल्यापटप १ थान, नक्कली भारतीय आधारकार्ड २ थान, बसको टिकट १ थान र चक्कु १ थान समेत बरामद गरेको छ । प्रहरीले Mai Hoang Kinh Laun लाई आवश्यक अनुसन्धान र कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको जनाएको छ ।




