काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू विभिन्न जिल्लाका बासिन्दा रहेका छन् । उनीहरूले सिंगापुर, क्रोएसिया र युके पठाइदिने भन्दै ठगी गरेका थिए ।
पक्राउ पर्नेहरूमा अर्घाखाँची सन्धिखर्क नगरपालिका ८ घर भई ललितपुर महानगरपालिका १ बस्ने ३५ वर्षीया प्रभा श्रेष्ठ रायमाझी, बर्दिया राजापुर नगरपालिका ७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० बस्ने ३४ वर्षीया सिर्जना पौडेल तथा खोटाङ हलेसी तुवाचुङ नगरपालिका ५ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका ४ बस्ने ३८ वर्षीय राकेशन राई रहेका छन् ।
प्रहरीका अनुसार प्रभाले सिंगापुर पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ७ लाख रुपैयाँ, सिर्जनाले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितबाट ६ लाख रुपैयाँ र राकेशनले युके पठाइदिन्छु भन्दै ५ जना पीडितबाट १९ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रभा श्रेष्ठ रायमाझीलाई ललितपुर महानगरपालिका १ बाट सिर्जना पौडेललाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० बाट आइतबार तथा राकेशन राईलाई भक्तपुर सूर्यविनायक नगरपालिका ४ बाट शुक्रबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




