काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका ११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ५ बस्ने ५४ वर्षीय लिल बहादुर राई र काठमाडौं महानगरपलिका २३ बसन्तपुर बस्ने ३७ वर्षीय विशाल श्रेष्ठ रहेका छन् ।
लिल बहादुरले मलेसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ र विशालले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लिल बहादुरलाई काठमाडौं बत्तीसपुतलीबाट र विशाललाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




