काठमाडौं । आकर्षक तलबको प्रलोभनमा अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । उदयपुर वेलका नगरपालिका ४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ बस्ने ३२ वर्षीया शर्मिला बिष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उनले अमेरिका पठाउने भन्दै एक जना पीडितसँग ४ लाख ५० हजार रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको उजुरी परेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं टेकु क्षेत्रबाट पक्राउ गरेको हो ।
हाल उनलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




