काठमाडौं । अनलाइन जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारतीय नागरिक अजय कुमारसहित २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बुढानिलकण्ठ नगरपालिका ५ स्थित भाडाको घरमा बसेर अनलाइन जुवा सञ्चालन गरिरहेको सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका व्यक्तिहरू भारतको बिहार राज्य, पटना मलवा थाना मलाम ठेगाना भएका ३० वर्षीय अजय कुमारसहित अन्य भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा उनीहरूले बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने अनलाइन गेमहरूमा जुवा खेलाउने कार्य गरिरहेको पाइएको छ । प्रहरीले उनीहरूको साथबाट २१ थान ल्यापटप, ३८ थान मोबाइल र ३ थान राउटर बरामद गरेको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरिरहेको खुलेको छ । उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।




