काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले आइतबार उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सुर्खेत सिम्ता गाउँपालिका ४ घर भई हाल ललितपुर महानगरपालिका २९ बस्ने ३७ वर्षीय इन्द्र बहादुर केसी र बारा करैयामाई गाउँपालिका १ घर भई काठमाडौं महानगरपालिका १६ ढुंगेधारा बस्ने ४६ वर्षीय विष्णुदयाल चौधरी रहेका छन् ।
प्रहरीका अनुसार इन्द्र बहादुरले ग्रिस पठाइदिन्छु भन्दै तीन जना पीडितहरूबाट २४ लाख रुपैयाँ ठगी गरेका थिए । त्यस्तै, विष्णुदयालले स्विडेन पठाइदिन्छु भन्दै एक जना पीडितबाट ४ लाख ४० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा अनुसन्धान अघि बढाइएको र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न उनीहरूलाई वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




