काठमाडौं । सालकको खपेटा अवैध रूपमा ओसारपसार तथा व्यापार गरिरहेको आरोपमा प्रहरीले ८ किलो ५ सय ग्राम सालकको खपेटासहित ४ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका ५ चामुण्डाचोकबाट शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सर्लाही बरहथवा नगरपालिका ९ घर भई हाल गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी बस्ने ४८ वर्षीय कुवेर बहादुर स्याङ्तान, नुवाकोट बेलकोटगढी नगरपालिका ५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ७ बस्ने ४० वर्षीय सन्त बहादुर गुरूङ रहेका छन् ।
यस्तै ओखलढुंगा मोलुङ गाउँपालिका ६ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ५ थली बस्ने २८ वर्षीय राजु विश्वकर्मा तथा सुनसरी धरान उपमहानगरपालिका १५ घर भई काठमाडौं महानगरपालिका २६ नयाँ बसपार्क बस्ने ४२ वर्षीय मदन राई रहेका छन् ।
उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




