काठमाडौं । यस वर्ष हिन्दू धर्मावलम्बीहरूले फागुन १४ गते बुधबार महाशिवरात्रि पर्व मनाउँदै छन् । विशेष गरी भगवान शिवको आराधना गरिने यस पर्वमा नेपालभरका शिव मन्दिरहरूमा ठूलो संख्यामा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर विशेष रूपमा सिंगारिन्छ, जहाँ नेपाल र भारतका हजारौं साधु सन्तहरूको जमघट लाग्ने गर्दछ । यसै अवसरमा हामी नेपालभरका प्रमुख शिव मन्दिरहरू र तीर्थस्थलहरूको महत्त्व बारे जानकारी प्रस्तुत गर्दैछौं ।
पशुपतिनाथको मन्दिर
पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो । यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ । पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्रमा पर्दछ ।
सन् १९७९ मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो । काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ ।
शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवम् श्रद्धाको केन्द्र बनेको छ । जन्मदेखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।
गोकर्णेश्वर महादेवको मन्दिर
काठमाडौं उपत्यकाको उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर मन्दिर नेपालकै एक प्राचीन र महत्त्वपूर्ण मन्दिर हो । वाग्मती, चन्द्रमती र सूर्यमतीको त्रिवेणी सङ्गम र गोकर्ण वनले बनाएको सुरम्य वातावरणमा गोकर्णेश्वर महादेवको भव्य मन्दिर छ ।
समुद्र सतहबाट १३३६ मिटरको उचाइमा काठमाडौं उपत्यकाको उत्तरपूर्वमा अवस्थित गोकर्ण किराँतीहरूको राजधानी रहेको इतिहासकारहरु बताउँछन् । गोकर्ण धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि प्रसिद्ध र महत्त्वपूर्ण गन्तव्यस्थल हो । नेपालका विभिन्न शैव मन्दिरहरूमध्ये गोकर्णेश्वर मन्दिर सत्ययुगदेखि नै एक महत्त्वपूर्ण र प्रसिद्ध तीर्थस्थलका रूपमा परिचित छ ।
शक्तिसङ्गमतन्त्र एवम् वराहपुराणमा गोकर्णेश्वर र जलेश्वरको महात्म्यको वर्णन गरिएकोले गोकर्ण निकै प्राचीन तीर्थ रहेको बुझिन्छ । रावणले यही तपस्या गरी त्रैलोक्य विजय गर्ने वर पाएका थिए ।
यो मन्दिर राजा जयस्थिति मल्लले इस १४२२ मा जीर्णोद्वार गरी नित्यपूजा र अन्य पर्वोत्सवका लागि गुठीको समेत व्यवस्था गरेका थिए तर सो पूर्व कसले कुन समयमा बनाएको हो अहिलेसम्मको अन्वेषणबाट थाहा हुन सकेको छैन ।
हलेसी महादेव मन्दिर
हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवम् बौद्ध तीर्थस्थल हो । यो स्थान सगरमाथा अञ्चलको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलदेखि करिव ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिम छापडाँडाबाट पूर्व नगरपालिकाको वडा नं ७ महादेवस्थान हलेसी गाउँमा पर्छ ।
हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ । ‘हलेसी गुफा’को प्राकृतिक भू-बनोटको संरचना समेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी अथवा मरातिक गुफा र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् ।
हिन्दू धर्म, बुद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ ।
कुम्भेश्वर महादेव मन्दिर
कुम्भेश्वर मन्दिर ललितपुरको महत्वपूर्ण मन्दिर मानिन्छ । कुम्भेश्वर मन्दिर, पाटन दरबार क्षेत्रबाट केही उत्तरमा रहेको छ । यहाँ सोमबारको दिन पूजा गर्न आउनेहरूको ठूलो भीड लाग्छ । कुम्भेश्वर मन्दिर परिसर पुरानो पाटन शहरको उत्तर भागमा रहेको सबैभन्दा पुरानो र व्यस्त स्थान हो ।
यस परिसरमा रहेका प्रमुख देवताहरूमा कुम्भेश्वर महादेव, बङ्गलमुखी, अनन्त भैरव, गौरीकुण्ड, हारती, मनकामना, केदारनाथ, बद्रीनाथ पर्दछन् । यहाँ एउटा पोखरी पनि रहेको छ, जसको स्रोत रसुवा जिल्लाको गोसाइँकुण्ड मानिन्छ । त्यसैले जनै पूर्णिमाको समयमा यहाँ स्नान गर्नु गोसाइँकुण्डमा स्नान गरेको बराबर मानिन्छ ।
डोलेश्वर महादेव मन्दिर
डोलेश्वर महादेव भक्तपुर सहरबाट दक्षिणपूर्वी कुनोमा अवस्थित सिपाडोल गाउँमा रहेको महादेव मन्दिर हो । यसलाई केदारनाथको शिर पनि भनिन्छ ।
काठमाडौंबाट सूर्यविनायक गणेशमन्दिरतिर लाग्ने मोड भक्तपुरको पहिले ट्रलिबस रोकिने ठाउँसम्म पुगेर त्यहीँबाट सिपाडोल जान बस समाएर सूर्यविनायक गणेशमन्दिरको बायाँतिरबाट पन्ध्र मिनेट जत्तिकै बिमला नाम गरेको खोलावारी सिपाडोल बसपार्क पुगिन्छ । त्यहाँबाट पूर्वतर्फको कच्ची सडक हुँदै पैदल तल ओर्लेर बिमला खोलामाथिको पुल तरेर उकालो लगभग आधा घन्टा हिँडेपछि डोलेश्वर मन्दिर पुगिन्छ ।
डोलेश्वर महादेव विशाल कालो पत्थरको शिवलिङ्ग साँढेको शिरझैँ माथि उठेर दायाँतर्फ कोल्टो परेर ढल्केको छ । र, चाँदीको नागले बेष्ठित भएर रहेको अति सुन्दर देखिन्छ । मन्दिरको बायाँ अर्थात् उत्तरतर्फ अविरल जल प्रवाह भइरहने ढुङ्गेधारा छ भने दायाँतर्फ भजन कीर्तनका लागि पक्की सत्तल र अग्निकुण्ड छ ।
वर्षको ३ पटक वैशाख जेठमा पर्ने अक्षय तृतीया, केदारनाथको शिर घोषणाको वाषिर्कोत्सव भदौ ६ गते र शिवरात्रीको दिनमा सर्वसाधारण भक्तजन आफैले मन्दिरभित्र शिवलिङ्ग छोएरै पूजा र ढोग दर्शन गर्न पाउने चलन छ । अरू बेला भक्तहरूको फूलमाला पूजा सामान र भेटी आदि पुजारीहरूद्वारा मात्र चढाउने व्यवस्था छ ।
सन्तानेश्वर महादेव मन्दिर
सन्तानेश्वर महादेव मन्दिर ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं १३, झरुवारासी स्थित कैलास पर्वतमा अवस्थित रहेको छ । यस मन्दिर सातदोबाटोबाट करिव ६ कि.मि. दक्षिण पूर्व दिशामा पर्दछ । ललितपुरको चापागाउँ, ठैब, बाडेगाउँ र धापाखेलबाट सडक संजाल हुँदै सन्तानेश्वर महादेव मन्दिर पुग्न सकिन्छ ।
समुन्द्री सतहबाट १५०७ मीटरको उचाईमा रहेको सन्तानेश्वर महादेव मन्दिर कैलाश पर्वतको शिखरमा विराजमान छ । मन्दिरको फेदि स्थित मुल गेटबाट शिखरमा उक्लनका लागी ३६६ वटा सिँढी हुँदै करिव १०० मिटर जतिको उकालो चढ्नु पर्दछ ।
प्यागोडा शैलीमा निर्मित सन्तानेश्वर महादेव मन्दिर २ तलाको रहेको छ । मन्दिरको शीर्ष भागमा एक ठूलो र अन्य गरी कुल ५ वटा गजुरहरुका साथै त्रिशुल र डमरु पनि विराजमान रहेका छन् । यस मन्दिरको छाना तामा धातु पाताबाट छाईएको छ ।
मन्दिरको २ वटै तलामा नै टुँडाल र कुँशल जोडेर आँखिझ्याल आकृति बनाईएको छ । मन्दिरमा धातुपाताकै झल्लर राखिनूका साथसाथै नुपूर घण्टाहरु पनि जडान गरिएका छन् भने चारैढोकामा तोरण स्थापित छन् । यसैगरी ढोकाको दायाँ बायाँ २/२ वटा आँखिझ्याल आकृतिमा झ्याल राखिएको छन् ।
कुशेश्वर महादेव मन्दिर
काठमाडौंको हनुमानढोकाबाट १८ कोश पूर्वमा धार्मिक एवम् साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मनोरम आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर रहेको छ । हिमवतखण्डमा सो क्षेत्रको वर्णन गरिएको आधारमा कुशेश्वर महादेव क्षेत्रलाई एउटा महान् तीर्थस्थल धार्मिक आस्थाको केन्द्र र साँस्कृतिक धरोहरको रूपमा लिन सकिन्छ ।
भोटेकोशी इन्द्रावती सुनकोशी चौंरी खोला लगायत असंख्य हिमाली पहाडी खोला छाँगाछहरा समेटेर पूर्व बगेकी पवित्र सुवर्णकौशिकी अर्थात् सुनकोसीमा मिसिन पुगेकी रोशीखोला लीलावती रोहमतीको दोभानमा पवित्र कुशेश्वर मन्दिर रहेको छ ।
काठमाडौंबाट ८३ किलोमिटरको दूरीमा रहेको दुम्जा फाँट रामेछाप काभ्रे र सिन्धुली जिल्लाको संगमस्थल पनि हो । सिन्धुली जिल्लाको कुशेश्वर दुम्जा गाउँ विकास समितिको वडा नं २ र ४ मा पर्ने नेपालथोक उपत्यकामा आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर रहेको छ ।
गलेश्वर महादेव मन्दिर
म्याग्दीको बेनी नगरपालिका ९ मा अवस्थित गलेश्वरधाम एक अलौकिक शक्ति धामको रुपमा परिचित छ । धार्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्वपूर्ण मानिएको गलेश्वरधाम रहुनदी र कालीगण्डकीको पवित्र सङ्गममा पर्दछ ।
९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित यस शीलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले यसको धार्मिक महिमालाई उजागर गरेको छ ।
श्रीमद्भागवत् पुराणअनुसार श्री महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी नदीको किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिलिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको नाम गलेश्वरधाम रहन गएको लिखित दस्तावेजमा उल्लेख भएको पाइन्छ ।
चक्रशीलाको परिधिमा शालिग्राम, शिवलिङ्ग र भगवानको चित्र, त्रिशूल, शङ्ख, नाग, देवदेवीका मूर्तिको आकृतिका दृश्य अलौकिक मानिन्छ । पूर्वमा कृष्ण गण्डकी, गायत्री मन्दिर, पश्चिम कालँजरवन, पुलहाश्रम, उत्तरमा सप्तऋषिको तपोभूमि रिखा, धौलगिरि हिमश्रृंखला र मुक्तिनाथ, दक्षिण बेनीबजार र म्याग्दी नदी रहेका छन् । बेनीबजारबाट तीन किलोमिटर उत्तरतर्फ मुक्तिनाथ प्रवेशद्धारका रुपमा रहेको यो द्वार मुक्तिद्वारको रुपले समेत चिनिन्छ ।
जलेश्वर महादेव मन्दिर
जलेश्वर महादेव मन्दिर नेपालको महोत्तरी जिल्लामा अवस्थित एक शिव मन्दिर हो । महाशिवरात्रि र वसन्त पञ्चमीको अवसरमा यस मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । जलेश्वर नगरमा रहेको यो मन्दिरकै नाउँमा नगरको नामाकरण गरिएको छ ।
प्राचीन दस्तावेज अनुसार यो हिन्दू शिव मन्दिर राजा जनकको समयदेखि नै अस्तित्वमा रहेको देखिन्छ । यो मानिन्छ कि राम र सीताको बीच विवाह हुँदा विवाहमा प्रयोग गरिएको माटो यसै मन्दिरबाट लगिएको थियो । मन्दिरमा रहेको एउटा तामाको शिलालेख अनुसार मन्दिरलाई व्यवस्थापन गर्न वि.सं. १८६९ मा तत्कालिन राजा गीर्वाणयुद्ध विक्रम शाहले २७५ बिघा जग्गा प्रदान गरेका थिए ।
यो मन्दिरलाई गुम्बज वास्तुकला शैलीमा बनाइएको छ । मुख्य मन्दिरको मध्य भागमा, गर्भ गृहभित्र एउटा वर्गाकार शिवलिङ्ग छ जुन पानीको मुनि रहेको छ । मन्दिर नजिकै एउटा पोखरी छ ।
आशापुरेश्वर महादेव
भक्तपुर जिल्लामा अवस्थित आशापुरेश्वर महादेव एक महत्वपूर्ण धार्मिक स्थल हो । यस स्थललाई आशापुरी पनि भनिन्छ । विशेषगरी मनले चिताएको इच्छा, आकांक्षा पूरा गर्ने महादेव भएकाले यसको नाम आशापुरेश्वर महादेव राखिएको किम्वदन्ती रहेको पाइन्छ ।
आशापुरेश्वरमा विशेष गरी सन्तान सुख र छोरा नभएकाहरूले छोराको प्राप्तिका लागि पूजा आराधना गर्दछन् । आशापुरी महादेव लिच्छवीकालमा निर्मित मन्दिर हो, जुन शिवपुराणमा वर्णित ६४ शिवलिङ्गमध्ये एक हो ।




