कालीकोट । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका ६ का पशुपति सज्यालका तीन छोरा र एक बुहारी एकै पटक सरकारी सेवामा नियुक्त भएका छन् । एकै परिवारका चार जनाले सरकारी जागिर पाएपछि गाउँभर खुसीयाली छाएको छ ।
सज्यालका जेठा छोरा सबराज सज्याल र माइला छोरा खगेन्द्र सज्यालले कृषि सेवामा, कान्छा छोरा अनिपाल सज्यालले प्रशासन सेवामा भने बुहारी सविना बडुवालले शिक्षक सेवाको प्राथमिक तहमा खोटाङमा नाम निकाल्न सफल भएका छन् ।
एकै घरका चार जना सरकारी सेवामा प्रवेश गरेको यो सफलता गाउँपालिकाभर चर्चाको विषय बनेको छ । कर्णाली प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव विश्वमित्र सज्यालका अनुसार सामान्य परिवारबाट आएका पशुपति सज्यालले आफ्ना छोराहरूलाई सरकारी विद्यालयमा पढाएर ठूलो सफलता हात पारेका हुन् ।




