काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका १७ घर भई ललितपुर महानगरपालिका १४ बस्ने ४६ वर्षीय अंगद कुमार जोशी, गोरखा बारपाक सुलिकोट गाउँपालिका ४ घर भई काठमाडौं महानगरपालिका २६ बस्ने ४७ वर्षीय जगदिश्वर पनेरू र उदयपुर उदयपुरगढी गाउँपालिका १ घर भई काठमाडौं महानगरपालिका ३ बस्ने ३३ वर्षीय नर माया कार्की रहेका छन् ।
पक्राउ मध्ये अंगदले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ६० हजार रूपैयाँ, जगदिश्वरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र नर मायाले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९९ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अंगदलाई काठमाडौं नागार्जुन नगरपालिका १ बाट सोमबार तथा जगदिश्वरलाई काठमाडौं महानगरपालिका १२ बाट र नर मायालाई काठमाडौं महानगरपालिका ३ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




