काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा बिरूवा गाउँपालिका ६ घर भई काठमाडौं तारकेश्वर नगरपालिका ९ बस्ने २६ वर्षीय सुन्दर केसी र बाग्लुङ निसीखोला गाउँपालिका ६ घर भई काठमाडौं टोखा नगरपालिका ८ बस्ने ५१ वर्षीय किरण घर्ती रहेका छन् ।
सुन्दर केसीले अजरबैजान पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १२ लाख ७० हजार रूपैयाँ लिएको तथा किरण घर्तीले सर्बिया पठाइदिन्छु भन्दै दुई जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले सुन्दर केसीलाई मंगलबार काठमाडौं महानगरपालिका २२ बाट तथा किरण घर्तीलाई बुधबार काठमाडौं महानगरपालिका ३ बाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचाल काठमाडौं पठाइएको छ ।




