काठमाडौं । नेपालमा पछिल्ला दिनहरूमा राजतन्त्र पुन:र्स्थापनाको माग गर्दै विभिन्न र्यालीहरू आयोजना भइरहेका छन् । केही समययता काठमाडौंसहित विभिन्न सहरहरूमा राजतन्त्र पुनर्स्थापना माग गर्दै समर्थकहरू सडकमा उत्रिएका छन् ।
बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा मोटरसाइकल र्यालीको आयोजना गर्यो, जसमा हजारौं समर्थकहरूले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए । र्यालीमा सहभागीहरूले ‘नारायणहिटी खाली गर, हाम्रो राजा आउँदै छन्’ भन्ने नारा लगाएका थिए ।
राप्रपाले संघीय प्रणालीको अन्त्यको माग गर्दै आएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संघीय प्रणाली भ्रष्टाचारको स्रोत बनेको दाबी गर्दै राजतन्त्र पुनर्स्थापनाका लागि अभियान चलाइरहेका छन् ।
राजा ज्ञानेन्द्रको बढ्दो सक्रियता
पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सक्रिय रूपमा देखिन थालेका छन् । केही दिनअघि उनले गलेश्वर धाम र बागलुङ कालिका मन्दिर भ्रमण गर्दा ठूलो संख्यामा समर्थकहरू भेला भएका थिए ।
यसैबीच, बिहीबार पोखरामा पूर्वराजा वीरेन्द्रको मूर्तिको अनावरण गरिएको छ, जसका लागि स्वयं पूर्वराजा ज्ञानेन्द्र पोखरा पुगेका थिए । अनावरण समारोहमा करिब तीन हजारभन्दा बढी समर्थकहरू भेला भएका थिए । कार्यक्रमका क्रममा उपस्थित भीडले पुरानो राष्ट्रगान गाएका थिए ।
स्थानीय पत्रकार रोहित पराजुलीका अनुसार, ‘ज्ञानेन्द्र शाहले कुनै राजनीतिक टिप्पणी नगरे पनि उनको उपस्थितिले राजतन्त्र पुन:र्स्थापनाका समर्थकहरूको हौसला बढाएको छ ।’
नेपालमा पुन: राजतन्त्र सम्भव छ ?
नेपालमा गणतन्त्र लागू भएको १७ वर्ष भइसकेको छ । तर, पछिल्ला वर्षहरूमा निरन्तर सरकार परिवर्तन, भ्रष्टाचार र राजनीतिक अस्थिरताका कारण नागरिकहरूमा असन्तोष बढेको देखिन्छ ।
कान्तिपुर पत्रिकाका सम्पादक उमेश चौहान भन्छन्, ‘नेपालका जनतामा वर्तमान व्यवस्था प्रति निराशा त छ, तर राजतन्त्र पुनर्स्थापनाका लागि कुनै ठोस आधार छैन ।’
राजनीतिक विश्लेषकहरूका अनुसार, पूर्वराजा ज्ञानेन्द्र स्वयं चुनावी प्रक्रियामा आउन तयार छैनन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भन्छन्, ‘ज्ञानेन्द्र शाह नेताका रूपमा होइन, राजाका रूपमा पुनःस्थापित हुन चाहन्छन् ।’
तर, नेपालको वर्तमान संसदमा राप्रपाको केवल १४ सांसद छन्, जसमा सात जना प्रत्यक्ष निर्वाचित र सात जना समानुपातिक प्रणालीबाट चुनिएका छन् । कुल २७५ सदस्यीय प्रतिनिधि सभामा उनीहरूको प्रभाव सीमित छ ।
राजनीतिक विश्लेषक चन्द्रकिशोर झा भन्छन्, ‘नेपालका जनता राजतन्त्रको अनुभव गरिसकेका छन् । असन्तोषलाई राजतन्त्र पुनर्स्थापनाको मागमा रूपान्तरण गर्न सकिन्छ भनेर सोच्नु भ्रम मात्र हो ।’
प्रचण्डको चुनौती : ‘पार्टी खोल्नुस्, चुनाव जित्नुस्, सत्ता सम्हाल्नुस्’
‘जनतासँग माओवादी : तराई मधेश जागरण अभियान’ अन्तर्गत शुक्रबार राति रौतहट पुगेका अध्यक्ष प्रचण्डले शनिबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले पुन: सत्ता फर्काउने सपना देख्नु व्यर्थ रहेको बताए ।
“ज्ञानेन्द्र शाहले पहिले पनि ठूल्ठूला गल्ती गरेका थिए । मैले त त्यसलाई मूर्खता नै भन्छु,” अध्यक्ष प्रचण्डले भने, “अब फेरि त्यही गल्ती गरे उनले बाँकी रहेको साख पनि गुमाउनेछन् ।”
डा. शेखर कोइराला : ‘अरूले पूर्वराजा भन्छन्, म राजा नै भन्छु’
नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफू राजा नै भन्ने बताएका छन् । झापामा आयोजित कार्यक्रममा उनले नागरिक असन्तुष्ट हुँदा राजतन्त्र फर्काउने चर्चा विभिन्न देशमा हुने बताए ।
उनले गणतन्त्रले जनतामा आशा र भरोसा जगाउन सकेको छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण रहेको उल्लेख गरे । साथै, राजतन्त्र फर्किने आफूलाई विश्वास नरहेको बताउँदै गणतन्त्रका पक्षधरहरूले राम्रो काम गरेर देखाउनुपर्ने आवश्यकता औंल्याए ।
पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा व्यापक तयारी, १० हजारको उपस्थितिको अनुमान
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौं फर्कने क्रममा उनका समर्थकहरूले भव्य स्वागतको तयारी गरिरहेका छन् । गृह मन्त्रालयले राजतन्त्र पुनर्स्थापना पक्षधरहरूको भेलामा करिब १० हजार व्यक्तिको उपस्थिति रहने आँकलन गरेको छ ।
राजाको स्वागतलाई व्यवस्थित गर्न गृह मन्त्रालय आयोजकहरूसँग समन्वय गर्दैछ । त्रिभुवन विमानस्थलमा सीमित व्यक्तिलाई मात्र जाने अनुमति दिइनेछ भने बाँकी समर्थकहरूलाई गौशाला, तिनकुने, भीमसेनगोला क्षेत्रमा रोक्ने योजना छ ।
यसैबीच, सत्तारुढ दलभित्रै राजासँग संवादको माग बढ्न थालेको छ भने भारतको अतिवादी समूह आरएसएसले नेपालमा आफ्ना गतिविधि सक्रिय पारिरहेको सुरक्षा स्रोतले जनाएको छ ।
नेपालमा राजतन्त्र पुनर्स्थापना पक्षमा समर्थन बढ्दै गएको देखिएपनि संविधान संशोधन वा जनमत संग्रह जस्ता प्रक्रिया बिना राजतन्त्र फर्काउने सम्भावना अत्यन्त न्यून छ । वर्तमान असन्तोष व्यवस्था प्रति निराशा हो, जसको समाधान खोज्न जनताले नयाँ वैकल्पिक शक्ति खोजिरहेका छन् ।
राजनीतिक अस्थिरता, भ्रष्टाचार र सुशासनको अभावकै कारण राजतन्त्र पुनर्स्थापनाको चर्चा भएको छ, तर नेपाल पुन: राजतन्त्रतर्फ फर्किन्छ भन्ने कुरामा धेरैजसो विज्ञहरूले विश्वास गरेका छैनन् ।




