काठमाडौं । महिलालाई दार्जिलिङ घुम्न लैजाने भन्दै महाराष्ट्रको कोठीमा बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका ७ का ३२ वर्षीय मानबहादुर तामाङ र सोही गाउँपालिका ६ का २४ वर्षीय सोमबहादुर तामाङ रहेका छन् ।
मानव बेचबिखन ब्युरोको टोलीले काठमाडौं तारकेश्वर नगरपालिकामा बस्दै आएका मानबहादुरलाई मनमैजुबाट फागुन २१ गते र २३ गते तारकेश्वरबाटै सोमबहादुरलाई पक्राउ गरेको हो । दुबै जनालाई पक्राउपछि आइतबार पत्रकार सम्मेलन गरी ब्युरोले सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले तामाङद्वयले गत मंसिर १८ गते ललितपुर गोदावरी नगरपालिका १२ चापागाउँ ठेचोबाट दुई जना महिलालाई दार्जिलिङ घुम्न जाने बहानामा लिएर हिँडेका थिए । कुँवरका अनुसार उनीहरूले ललितपुरबाट महिलालाई सुरूमा कोटेश्वर ल्याए ।
कोटेश्वरबाट झापा काँकडभिट्टाको बाटो हुँदै दार्जिलिङ पुर्याए । ‘त्यहाँबाट कलकत्ता, दिल्ली हुँदै महाराष्ट्र पुर्याएको अनुसन्धानमा खुलेको छ,’ कुँवरले भने । त्यसपछि उनीहरूले महिलालाई महाराष्ट्रको पुनेस्थित न्यू विल्डिङ (फुड प्लाजा) बुधबारे पेठको रेडलाइट एरियामा पुर्याएका थिए ।
‘उक्त रेडलाइट एरियाको कोठीमा पुर्याएर उनीहरूले महिलालाई व्यावसायिक रूपमा बेश्यावृत्तिमा लगाएका थिए, ती महिलालाई गत माघ १५ गते उद्धार गरी नेपाल ल्याइएको थियो,’ कुँवरले पत्रकार सम्मेलनमा भने ।
उद्धारपछि नेपाल आएर ती महिलाले प्रहरीमा निवेदन दिएका थिए । अनुसन्धान अनुसार दुबै महिलालाई निरिमाया घलानको नाममा नक्कली नागरिकता परिचय पत्र बनाएर काँकडभिट्टा पुर्याइयो । ‘बोर्डर पार गर्ने बेलामा कसैले सोधे यो कार्ड देखाउनु भनेर महिलालाई भारत लगिएको थियो,’ कुँवरले भने ।
दार्जिलिङ, कलकत्ता र दिल्ली हुँदै महाराष्ट्रको पुनेमा लगेपछि महिलालाई कोठीमा पुर्याइएको अनुसन्धानबाट खुलेको कुँवर बताउँछन् । कोठीमा पुर्याएपछि उनीहरूले महिलालाई १ लाख ५० हजार रुपैयाँमा बिक्री गरेका थिए । कोठीमा बिक्री भएपछि ती महिलालाई जबरजस्ती बेश्यावृत्तिमा लगाइएको थियो ।
ती महिलाले सँगै कोठीमा काम गर्ने महिलाको सहयोगमा नेपालमा आफ्ना श्रीमानलाई फोन गरे । त्यसपछि उद्धारको याचना गर्दै श्रीमानहरू ब्युरोमा निवेदन दिन पुगेका थिए । ब्युरोले भारतीय प्रहरीसँग समन्वय गरी ती महिलालाई उद्धारको पहल गरेको थियो । ती महिला भारतीय प्रहरीलाई बसको टिकट काट्न लगाएर सुगौलीसम्म आएर नेपाल छिरेका थिए ।
मानबहादुर तामाङ यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परी जेलबाट छुटेका थिए । उनलाई सुरू अदालतले १० वर्ष कैद सजाय तोकेको थियो । उच्च अदालतले सजाय घटाएर पाँच वर्ष तोकेपछि मानबहादुर कैदमुक्त भई पुन: मानव बेचबिखनजन्य कार्यमा संलग्न भएको पाइएको छ ।
कुँवरका अनुसार त्यो अपराधमा संलग्न अर्का प्रतिवादी सञ्चबहादुर तामाङ डाँका तथा चोरी मुद्दामा हाल नख्खु कारागारमा रहेका छन् । अहिले पक्राउ परेका दुबै जनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको कुँवरले बताए ।
ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले चालू आर्थिक वर्ष २०८०/८१ को हालसम्म मानव बेचबिखनका ३१ मुद्दा दर्ता भएको र त्यसमा २० जना महिला र ६३ जना पुरुष पक्राउ परेको जानकारी दिए ।




