काठमाडौं । विशेष अदालतबाट आंशिक सफाइ पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । पर्साको साविक बेल्वा गाविस ८ मा रहेको युवा स्पोर्ट्स क्लबको ०–१–५–० बिगाहा जमिन गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा अख्तियारले मालपोत कार्यालयका कर्मचारीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
अख्तियारको आरोप
सरकारी कागजातको दुरुपयोग गर्दै वीरगञ्ज महानगरपालिका ३१ का शेष सफि अहमदको नाममा क्लबको जग्गा नामसारी गराएको अख्तियारको ठहर छ । यसै प्रकरणमा अख्तियारले तत्कालीन भूमि सुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुख कमोद तिवारीसहित नायब सुब्बा शम्भु साह रौनियार, खरिदार शिवप्रकाश साह तेली, रिन्ता कुमारी, शेख साजिद एकबाल र शेष सफि अहमदविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।
विशेष अदालतको फैसला र अख्तियारको पुनरावेदन
विशेष अदालतले २०८१ साल असार १६ गतेको फैसलामा तिवारीसहितका तीन जनालाई आंशिक सफाइ दिएको थियो । विशेष अदालतको उक्त फैसला प्रति असन्तुष्ट हुँदै अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको हो ।
अख्तियारले विशेष अदालतको फैसला बदर गरी प्रतिवादीहरूलाई कारबाही हुनुपर्ने माग गरेको छ । अब सर्वोच्च अदालतको फैसलाले यस प्रकरणमा अन्तिम न्याय निर्धारण गर्नेछ ।




