काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका ९ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका ९ बस्ने ५१ वर्षीय प्रकाश बहादुर सिंहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
सिंहले एक व्यक्तिलाई माल्टा पठाउने भन्दै ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको आरोप लागेको थियो । पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ नगरपालिका ६ सरस्वती कोलोनीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका सिंहलाई आवश्यक अनुसन्धान र कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




