नवलपुर । यस पालिको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कावासोती नगरपालिकास्थित सिद्धार्थ आवासीय माध्यमिक विद्यालयबाट ४ जोडी जुम्ल्याहासमेत सहभागी भएका छन् । सिद्धार्थ आवासीय माविबाट ८४ जना परीक्षार्थी सहभागी भएका छन्, जसमा ४ जोडी जुम्ल्याहा रहेका छन् ।
कावासोती २ की रिया र रितीमा सापकोटा, कावासोती ८ का राम र लक्ष्मण अधिकारी, कावासोती ३ का साइमन र सक्षम गुरुङ, तथा कावासोती-३ कै रष्टिका र युनिका क्षेत्री परीक्षा दिइरहेका छन् । उनीहरूको परीक्षा केन्द्र शिव नमुना माध्यमिक विद्यालयमा रहेको छ ।
परीक्षाका लागि प्रवेशपत्र जाँच गर्दा सुरुको दिनमा शिक्षकहरू पनि अलमलिएका थिए । कक्षा नर्सरीदेखि नै सँगै अध्ययन गरेका यी चार जोडी जुम्ल्याहा विद्यार्थी एकआपसमा मिल्ने साथी समेत हुन् ।
यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सुरु भएको छ । पूर्वी नवलपरासीमा नियमिततर्फ ५ हजार ८२६ तथा ग्रेड वृद्धितर्फ ६५६ विद्यार्थी परीक्षा दिइरहेका छन् । तीमध्ये छात्रा ३ हजार २४७ र छात्र ३ हजार २३५ जना रहेका छन् ।




