काठमाडौं । राजधानी काठमाडौं पुन: गम्भीर वायु प्रदूषणको चपेटामा परेको छ । आज बिहान ९ बजेसम्मको वायु गुणस्तर सूचकांक (AQI) अनुसार काठमाडौंको एक्यूआई ३०९ पुगेको छ, जसले विश्वका सबै सहरलाई उछिन्दै काठमाडौं अहिले सबैभन्दा प्रदूषित सहर बनाएको छ ।
अत्यन्तै खतरनाक मानिने यो स्तरले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने विज्ञहरूले चेतावनी दिएका छन् । AQI मा दोस्रो स्थानमा भारतको राजधानी दिल्ली (AQI १८४) र तेस्रो स्थानमा पाकिस्तानको लाहोर (AQI १८१) रहेका छन् ।
स्वास्थ्य विज्ञहरूका अनुसार, हाल काठमाडौंको वायु गुणस्तर सबै उमेर समूहका नागरिकका लागि जोखिमपूर्ण छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वास र मुटुका दीर्घरोगीहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ ।
पछिल्लो केही दिनयता पानी नपरेको, साथै उपत्यकाका आसपासका डाँडापाखामा लागेको डढेलोका कारण धुँवा र धुलोले वातावरण अत्यन्त प्रदूषित बनेको हो । केही दिनअघि चलेको हावाले अलिकति राहत मिलाए पनि स्थिति अझै गम्भीर नै छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार, AQI ३५ भन्दा कम हुनुपर्ने मानिन्छ । तर हाल काठमाडौँको AQI ३०० नाघेको अवस्थामा ‘खतरनाक’ वर्गमा पर्दछ । यसले सामान्य नागरिकहरू मात्र होइन, स्वस्थ व्यक्तिहरूको पनि स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक advisory जारी गर्दै नागरिकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । अत्यावश्यक कामबाहेक बिहान र साँझ घरबाहिर ननिस्कन, मास्क प्रयोग गर्न, घरभित्र स्वच्छ हावाको प्रवाह गराउन र बच्चा, वृद्धवृद्धा तथा बिरामीहरूलाई विशेष जोगाउन आग्रह गरिएको छ ।
२०७६ सालमा तयार पारिएको वायुगुणस्तर व्यवस्थापन कार्ययोजना अनुसार, यदि AQI ३०० नाघेमा त्यसलाई विपद् स्थिति मानी आपतकालीन कदम चाल्नुपर्ने व्यवस्था छ । तर हालसम्म यस्ता कदमको प्रभावकारी कार्यान्वयन नभएको प्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।




