काठमाडौं । “अवसर खोजेर होइन, सिर्जना गरेर बनाइन्छ”- यस भनाइलाई जीवन्त उदाहरण बनाएका छन्, सहज राज मल्लले । उनी काठमाडौँ विश्वविद्यालयका स्नातक तह दोस्रो वर्षका विद्यार्थी हुन् । १७ वर्षको उमेरमै डाटा इन्जिनियर बनेका सहजले १८ पुग्न नपाउँदै डाटा वैज्ञानिकको रूपमा व्यावसायिक यात्रा सुरु गरे- उहाँको जिज्ञासा, परिश्रम र दृढ संकल्पको फलस्वरूप ।
सहजले विदेशको डिग्री नभई नेपालकै शैक्षिक पृष्ठभूमिबाट विश्वस्तरीय उपलब्धि हासिल गर्न सकिन्छ भन्ने तथ्यलाई सहजले प्रमाणित गरिरहेका छन् । अध्ययनसँगै, उनले आफ्नो प्रतिभा र योगदानलाई समाजका लागि उपयोगी बनाउँदै आएका छन् ।
सफलताका चरणहरू
सहज Huawei को Seeds for the Future कार्यक्रमका सहभागी भए । उनले निर्माण गरेको GreatAPI नामक खुला स्रोत पाइथन फ्रेमवर्कले विश्वभरका प्रोग्रामरहरूको ध्यान आकर्षित गर्यो । यतिमात्र होइन, उनले दुई वटा अनुसन्धानपत्र लेखिसकेका छन्, जसमध्ये एक हालै प्रकाशित भइसकेको छ ।
तर सहजको योगदान यति मात्रैमा सिमित छैन । उनले स्थापना गरेको HamroNiwas नामक सामाजिक स्टार्टअपले २०० भन्दा बढी विद्यार्थीहरूलाई काठमाडौं वरपर कोठा तथा आवश्यक सामाग्री खोज्न सहयोग गरिसकेको छ । अप्रत्यक्ष रूपमा यो परियोजनाले २५०० भन्दा बढी विद्यार्थीहरूलाई फाइदा पुर्याएको छ ।
सहज भन्छन्, “यहाँ, आफ्नै देशमा बसेर पनि केही गर्न सकिन्छ । जिज्ञासा, निरन्तर अभ्यास र समाज प्रति उत्तरदायित्वबोध- यी तीन कुराले भविष्य निर्माण सम्भव बनाउँछ ।”
विदेश पलायनले नेपाली युवाशक्ति बाहिरिरहेका बेला सहजजस्ता युवाहरूले आशाको त्यान्द्रो देखाइरहेका छन् । नेपालमा पनि नवप्रवर्तन सम्भव छ, सिर्जनशीलता चहकिलो हुन सक्छ, र समाधान यहीँ जन्मिन सक्छ ।
सहज राज मल्लको कथा केवल एक व्यक्तिको सफलता मात्र होइन- यो त नयाँ पुस्ताले आफ्नै देशमा अवसर खोज्न सक्ने आत्मबलको कथा हो । हामीले यस्ता प्रेरणादायी यात्राहरू साझा गर्नु आवश्यक छ किनकि यिनै कथाहरूले नेपालका अन्य थुप्रै “सहजहरू”लाई आफ्नै बाटो पहिल्याउने आँट दिन सक्छ ।




