काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक प्रलोभन देखाई रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका ४ बस्ने तथा बारा जीतपुरसिमरा उपमहानगरपालिका १६ घर भएका २७ वर्षीय उमेश भोलोनलाई सोमबार पक्राउ गरेको हो ।
उनीमाथि रसिया पठाइदिने भन्दै चार जना पीडितहरूसँग जम्मा ३ लाख ४० हजार रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन बनेको आरोप लागेको छ । पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १२ स्थित टेकुबाट उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उमेश भोलोनलाई वैदेशिक रोजगार सम्बन्धी थप अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले यस्ता ठगी गर्ने गिरोहहरूविरुद्ध कडा निगरानी र कारबाही जारी राख्ने बताएको छ ।




