काठमाडौं । आफू नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गर्ने एक महिला काठमाडौंमा पक्राउ परेकी छिन् । प्रहरीले दैलेख घर भई ललितपुर महानगरपालिका २५ बस्ने ४० वर्षीया जानकी न्यौपानेलाई सोमबार त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका ११ स्थित त्रिपुरेश्वर क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
जानकीले विभिन्न व्यक्तिलाई आफू कानून मन्त्रालयको उपसचिव हुँ, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु भनी फरक फरक परिचय दिँदै ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
उनले विमानस्थलको विभिन्न शीर्षकमा ठेक्का मिलाइदिने भन्दै राजस्व र धरौटीको नाममा ७ लाख ६० हजार ८ सय रुपैयाँ असुल गरेको बताइएको छ ।
त्यसैगरी, अन्य दुई जनालाई अनुदान तथा ठेक्का दिलाइदिने प्रलोभन देखाई थप रकम ठगी गरेको आरोप पनि छ । हाल उनलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले यस्ता नक्कली पदधारी तथा ठगहरूविरुद्ध सतर्क रहन सर्वसाधारणलाई आग्रह गर्दै कानुनी कारबाही कडाइका साथ अगाडि बढाइने जनाएको छ ।




