एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को लिग चरण सकिएको छ र प्लेअफ खेलहरू सुरु हुँदैछन् । यस सिजनमा चौका र छक्काको संख्यामा गत वर्षको तुलनामा थोरै वृद्धि देखिएको छ ।
२०२४ मा कुल १,२०८ छक्का प्रहार गरिएको थियो भने २०२५ मा १,२१७ छक्का प्रहार भएका छन् । त्यस्तै चौकाको संख्यामा पनि वृद्धि भएको छ, २०२४ मा २,०७० चौका प्रहार भएकोमा यो वर्ष २,१३८ चौका प्रहार गरिएको छ ।
गत वर्ष सनराइजर्स हैदराबादले १६० छक्का प्रहार गरेर सबैभन्दा धेरै छक्का प्रहार गर्ने टोली बनेको थियो भने यस वर्ष लखनऊ सुपर जायन्ट्सले १५२ छक्का प्रहार गर्दै शीर्ष स्थान हासिल गरेको छ । दोस्रो स्थानमा राजस्थान रोयल्स १४६ छक्कासहित रहेको छ ।
यद्यपि, यी दुवै टोली प्लेअफको दौडबाट बाहिरिएका छन् । व्यक्तिगत रूपमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी लखनऊका निकोलस पूरन रहेका छन्, जसले कुल ४० छक्का प्रहार गरेका छन् ।
मिचेल मार्शले ३७, मुम्बई इण्डियन्सका सूर्यकुमार यादवले ३२ र पञ्जाबका श्रेयस अय्यरले ३१ छक्का प्रहार गरेका छन् । यस सिजनमा कुल ९ वटा शतक प्रहार भएका छन् । तीमध्ये सबैभन्दा धेरै रन सनराइजर्स हैदराबादका अभिषेक शर्माले बनाएका हुन् ।
उनले पञ्जाबविरुद्ध १४१ रन बनाएर सिजनको उच्च व्यक्तिगत स्कोर नाममा लेखाएका छन् । अन्य शतक बनाउने खेलाडीहरूमा वैभव सूर्यवंशी (राजस्थान), इशान किशन र हेनरिक क्लासेन (सनराइजर्स), मिचेल मार्श र ऋषभ पन्त (लखनऊ), केएल राहुल (दिल्ली), प्रियांश आर्या (पञ्जाब) र साइ सुदर्शन (गुजरात) रहेका छन् ।
आईपीएलको यो सिजन चौका छक्काको हिसाबले रोमाञ्चक र प्रतिस्पर्धात्मक देखिएको छ । अब प्लेअफ चरणमा पनि दर्शकहरू यस्तै धमाकेदार प्रदर्शनको अपेक्षामा छन् ।






