काठमाडौं । सम्भावित भारी वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा–काठमाडौं जोड्ने दुई प्रमुख सडकखण्डमा तीन दिनसम्म रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सोमबार जारी गरेको सूचनाअनुसार असोज २० गतेसम्मका लागि तोकिएको समयमा यातायात पूर्ण रूपमा बन्द रहनेछ । यस अन्तर्गत कान्ति लोकपथमा बेलुकी ४ बजेदेखि बिहान ६ बजेसम्म र हेटौंडा–भैँसे–काठमाडौं सडकखण्डमा बेलुकी ५ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन बन्द हुनेछ ।
जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म मकवानपुरमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरेपछि सम्भावित दुर्घटना र विपद् रोकथामका लागि प्रशासनले यस्तो कदम चालिएको जनाएको छ ।
प्रशासनले अत्यावश्यक कामबाहेक लामो दूरी वा रातको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । साथै, पहिरोको जोखिममा रहेका र नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन र विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सबै स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिइएको छ ।




