काठमाडौं । अविरल वर्षाका कारण मुग्लिन-नारायणगढ सडकबाहेक अधिकांश सडकहरू पूर्णरूपमा बन्द भएका छन् । शनिबार र आइतबारको अविरल वर्षाका कारण देशका विभिन्न स्थानका १७ वटा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ ।
सोमबार बिहानसम्म दुई वटा राजमार्ग भने एकतर्फी सञ्चालनमा आएका छन् । संखुवासभा भोटखोला गाउँपालिका ४ बरूणखोलास्थित कोशक्की राजमार्ग, मकालु गाउँपालिका ३ एकुवाको कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध छन् ।
यी सडक वर्षा रोकिएर ओभानो नभएसम्म सञ्चालन हुन नसक्ने विभागका प्रवक्ता प्रभातकुमार झाले बताए । यस्तै, ओखलढुंगाको सिद्धिचरण लोकमार्ग मानेभञ्ज्याङ गाउँपालिका ६ र ७ को सिमानास्थित भँडारे खोलामा अवरुद्ध छ ।
उदयपुरको कटारी नगरपालिका १४ दलदलेमा समेत सिद्धिचरण लोकमार्ग अवरुद्ध छ । उदयपुरकै कटारी नगरपालिकाका विभिन्न स्थानमा सिद्धिचरण लोकमार्ग अवरुद्ध छ ।
धनकुटाको पाख्रिबास नगरपालिका ५ दिकुरेमा मध्यपहाडी लोकमार्ग भने एकतर्फी सुचारु भएको छ । इलाम नगरपालिका ९ राजदुवाली लगायत स्थानमा पहिरो गएका कारण मेची राजमार्ग पूर्णरुपमा अवरुद्ध छ ।
मधेस प्रदेशमा कुनै पनि राजमार्ग अवरुद्ध छैनन् । बागमती प्रदेशका अधिकांश सडक अवरुद्ध छन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ मा नेपाल-चीन जोड्ने पुल बाढीले बगाएका कारण सडक पूर्णरुपमा अवरुद्ध छ ।
रसुवाकै गोसाइँकुण्ड २ को पासाङ-ल्हामु सडकखण्ड तीन ठाउँमा पहिरो गएर बन्द छ । रसुवाकै गोसाइँकुण्ड ५ स्याफ्रुबेंसी सडक वर्षाका कारण अवरुद्ध छ ।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ४ चारकिलोमा पहिरोका कारण अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध छ । काभ्रेको रोशी गाउँपालिका ११ माम्तीखोला, डालाबेसी, बुलढुंगा, बाँझोखेत लगायत ठाउँमा पहिरोका कारण बिपी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ ।
मकवानपुरमा अविरल वर्षाका कारण इन्द्रसरोबर गाउँपालिका ३ सिस्नेरी बजारस्थित कुलेखाने-सिस्नेरी-दक्षिणकाली-काठमाडौं सडक पूर्णरुपमा अवरुद्ध छ ।
मकवानपुरकै भीमफेदी गाउँपालिका ८ बगुवा खोलाको कान्ति लोकपथ पूर्ण अवरुद्ध छ । मकवानपुरकै बकैया गाउँपालिका ११ घट्टेपाखास्थित कान्ति लोकपथ पहिरोका कारण पूर्णरुपमा अवरुद्ध छ ।
सिन्धुली फिक्कल गाउँपालिका ६ नागस्थानमा पहिरोका कारण मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ । सिन्धुली मरिण गाउँपालिका २ सिन्दुरेमा पहिरोका कारण मदन भण्डारी राजमार्ग एकतर्फी मात्रै खुलेको छ ।
सिन्धुलीकै सुनकोशी गाउँपालिका १ नेपालथोकमा पहिरोका कारण बीपी राजमार्ग पूर्णरुपमा बन्द छ । “बाढी-पहिरो रोकिएर पहिरो पन्छाएपछि मात्रै यी सडक पूर्णरूपमा सञ्चालनमा आउँछन्,” झाले भने ।




