काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन धर्मावलम्बीहरूको महान चाड तिहार अन्तर्गतको भाइटीकाका लागि विभिन्न देशहरूमा शुभ साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले तिथिमान, नक्षत्र र भौगोलिक स्थानअनुसार खगोलीय गणनाका आधारमा विश्वभरका प्रमुख शहरहरूमा भाइटीका लगाउने उपयुक्त समय निर्धारण गरेको हो ।
समितिका अनुसार नेपालमा यस वर्षको भाइटीका २०८२ साल कार्तिक ६ गते बिहान ११:३९ बजे लगाउन शुभ मानिएको छ । भारतको नयाँ दिल्लीमा अक्टोबर २३, २०२५ का दिन बिहान ११:५५ बजे भाइटीका लगाउने शुभ साइत तोकिएको छ ।
त्यस्तै, अमेरिकाको न्यूयोर्कमा ११:५५ बजे, लन्डन (बेलायत) मा ११:३७ बजे, पेरिस (फ्रान्स) मा ११:२१ बजे, फ्र्याङ्कफर्ट (जर्मनी) मा ११:४३ बजे, डेनमार्कमा ११:२५ बजे, ओस्लो (नर्वे) मा ११:४३ बजे, र जेनेभा (स्विट्जरल्याण्ड) मा ११:४५ बजे भाइटीका लगाउन उपयुक्त हुने जनाइएको छ ।
क्यानडाका टोरन्टो र भ्यानकुभरमा ११:२५ बजे, अमेरिकाको टेक्सासमा ११:५७ बजे, क्यालिफोर्नियामा ११:४१ बजे र सिकागोमा ११:३५ बजे भाइटीकाको साइत निर्धारण गरिएको छ । अस्ट्रेलियाका सिड्नी, मेलबर्न, ब्रिसवेन, एडिलेड र पर्थ लगायत शहरहरूमा भने समयान्तरका कारण भाइटीका अक्टोबर २२ तारिखमा नै पर्ने भएकाले सोही अनुसार साइत तोकिएको समितिले जनाएको छ ।
एशियाका अन्य देशहरूका लागि पनि साइत निर्धारण गरिएको छ । जापानको टोकियोमा ११:४२ बजे, दक्षिण कोरियाको सियोलमा ११:२१ बजे, सिंगापुरमा ११:५८ बजे, मलेसियाको क्वालालम्पुरमा ११:५७ बजे, थाइल्याण्डको बैंककमा ११:४१ बजे, म्यानमारको याङ्गुनमा ११:५५ बजे, युएईको अबुधाबीमा ११:५५ बजे, कतारको दोहामा ११:५५ बजे र इजरायलको तेल अभिभमा ११:४५ बजे भाइटीका लगाउन उपयुक्त समय निर्धारण गरिएको छ ।
समितिले यस वर्षको तिहारको अवसरमा विश्वभरका सनातन धर्मावलम्बीहरूलाई शुभ दीपावली २०८२ को मंगलमय शुभकामना व्यक्त गरेको छ । साथै, शुभ साइतलाई ‘सबैभन्दा उपयुक्त समय’का रूपमा निर्धारण गरिएको भएपनि सो दिन आफ्ना परिवारको सुविधा अनुसार अन्य समयमा पनि भाइटीका लगाउन सकिने स्पष्ट गरिएको छ ।





