बर्दिया । भारतको सीमा नजिक बिहीबार दिउँसो फेला परेको बेवारिसे शवको पहिचान बर्दिया बाँसगढी नगरपालिका ५ रामपुरका २० वर्षीय दिनेश सुनारको रूपमा खुलेको छ । भारतको बहराइच जिल्ला मोतिपुर थाना अन्तर्गत बलैगाउँमा फेला परेको शवको पहिचान नेपाल प्रहरीले गरेको हो ।
पारिवारिक स्रोतका अनुसार दिनेश सुनार गत मंगलबार धनगढी जाने भन्दै घरबाट निस्केका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएका थिए । बिहीबार सीमा क्षेत्रमा नेपाली मुलका जस्तो देखिने युवाको शव फेला परेको खबर फैलिएको थियो ।
घटनास्थलको प्रारम्भिक अध्ययनका आधारमा युवक चप्पलको सिरानी हालेर सुतेको र मुखबाट फिँज निस्किएको अवस्थामा फेला परेका थिए भन्ने जानकारी जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर मल्लले दिए ।
प्रहरीका अनुसार युवक कसरी भारतको सो स्थानमा पुगे र उनको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । शवलाई पोस्टमार्टमका लागि भारतको बहराइच अस्पताल लगिएको र पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
दिनेशका परिवारका सदस्यहरू बिहीबार नै बहराइच पुगेर औपचारिक प्रक्रिया पूरा गर्ने तयारीमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।




