सर्लाही । बुधबार मात्र नेपाली कांग्रेसका सभापति गगन थापाबाट टीका लगाएर कांग्रेस प्रवेश गरेका सर्लाहीको गोडैता नगरपालिका ५ का वडाध्यक्ष प्रकाश प्रसाद गुप्ता आज पुन: आफ्नै पुरानो पार्टी जनता समाजवादी पार्टी जसपामा फर्किएका छन् ।
जसपाबाट निर्वाचित वडाध्यक्ष गुप्ताले आज आफू कांग्रेस परित्याग गरी पुरानै पार्टीमा फर्किएको घोषणा गरेका हुन् । उनले आगामी निर्वाचनमा पनि जसपालाई नै सहयोग गर्ने स्पष्ट पारेका छन् ।
एक भिडियोमा उनले आफू सुरुदेखि नै जसपामा रहेको, पार्टी प्रति प्रतिबद्ध रहेको र गोडैता नगरपालिका ५ का निर्वाचित वडाध्यक्षका रूपमा काम गरिरहेको बताएका छन् ।
यदपी पार्टीको गठबन्धनका कारण केही समयका लागि नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्र सिंहसँग नजिकिएको र सोही कारण त्यहाँ गएको र आफूलाई सम्मान गरेको भन्दै धन्यवाद समेत दिए ।
अन्त्यमा उनले आफ्नो पार्टी छोडेर अन्य कुनै दललाई भोट नदिने र जसपा प्रति पूर्ण निष्ठा कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार सर्लाहीको गोडैतामा कांग्रेसका सभापति थापालाई सहयोग गर्ने भन्दै उनीसहित ४ जना वडाध्यक्षले कांग्रेस प्रवेश गरेका थिए ।




