काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफू सांसद बन्न नपाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि काम गर्न सल्लाह दिएका छन् । ज्ञानेन्द्र रास्वपाको समानुपातिक सूचीमा रहे पनि सांसद बन्न भने पाएनन् ।
‘क्रिकेटबाट मैले सिकेको कुरा मैदानभित्रको टिम ११ मा म रहूँ वा नरहूँ, तर मेरो देशले हार्नु हुँदैन । खेल व्यक्तिगत रेकर्डका लागि होइन, टिमको जितका लागि खेलिन्छ । त्यसैले, देशलाई जिताउन मैदानमा उत्रिएका साथीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एकढिक्का भएर खेल्नुहुनेछ भन्ने विश्वासका साथ सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।
यसैगरी उनले आफू सदन वा सडक जहाँ रहे पनि देशको सेवाका लागि अगाडि बढ्ने बताएका छन् । उनले अगाडि भने, ‘यस निर्वाचनमा आफ्नो अमूल्य मतमार्फत देशको समृद्धिका लागि मत लगानी गर्नुहुने सम्पूर्ण आदरणीय मतदाताहरूमा हृदयदेखि नै धन्यवाद । मलाई यो अवसरमा सम्झनुहुने रास्वपा परिवार, आदरणीय कुमार दाइ र बालेनजीप्रति विशेष कृतज्ञता व्यक्त गर्दछु । म सदनमा रहूँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु । किनकि अन्त्यमा, व्यक्तिको हारजितभन्दा पनि देशको जित नै सबैभन्दा ठूलो कुरा हो ।’






