महोत्तरी । पूर्व-पश्चिम रेल्वे परियोजनाको बर्दिबाससम्मको काम मुआब्जा विवादका कारण रोकिएको छ । बर्दिबास नगरपालिका क्षेत्रमा १४ जनाले मुआब्जा नपाएपछि निर्माण कार्य स्थगित भएको रेल विभागले जनाएको छ ।
भारत सरकारको सहयोगमा जयनगरदेखि महोत्तरीको भङ्गाहा नगरपालिकास्थित रेल्वे स्टेशनसम्म रेल सञ्चालनमा आएको भएपनि भङ्गहाबाट बर्दिबाससम्मको रेल मार्गको काम रोकिएको छ । १४ जनालाई रु सातदेखि आठ करोड बराबरको मुआब्जा तिर्न बाँकी रहेको विभागले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग रकम निकासा गर्न रेल विभागले अनुरोध गरिसकेको छ । पीडितहरूले पटक–पटक मुआब्जा उपलब्ध गराउन माग गर्दै रेल विभाग समेत पुगेका थिए ।
सुनुवाई नभएपछि उनीहरूको चेतावनी अनुसार अन्तत: बर्दिबासमा रेल्वे मार्गको निर्माण रोक्न बाध्य भएको बताएका छन् । रेल विभागले मुआब्जा वितरण र निर्माण कार्य पुन: सुरु गर्ने विषयमा छलफल जारी छ ।






