रौतहट । रौतहटको सदरमुकाम गौरमा भन्सार छली गरेर ल्याइएको चिनी बरामद भएको घटनाबारे सशस्त्र प्रहरीलाई सूचना दिएको आरोपमा एमालेनिकट एक नेतामाथि भारतको बैरगनियामा कुटपिट भएको दाबी गरिएको छ ।
घटना भएको तीन दिन बितिसक्दा पनि आरोपित पक्राउ नपरेको भन्दै पीडित पक्षले प्रहरीको भूमिकामाथि प्रश्न उठाएको छ । कुटपिटमा परेको भनिएका व्यक्ति नेपाल बुद्धिजीवी परिषद् मधेश प्रदेशका अध्यक्ष तथा रौतहट जिल्ला अध्यक्ष अनिल झा हुन् ।
झामाथि भारतको बैरगनिया बजारमा एक समूहले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । झाका अनुसार गत सोमबार बिहान करिब १० बजे भारतको बैरगनिया जाने क्रममा गौर ५ स्थित कस्टम कार्यालयनजिकै सुरेन्द्र गुप्तासहितको समूहले मोटरसाइकल रोकेर आफूमाथि कुटपिट तथा दुर्व्यवहार गरेको थियो ।
झाले आफूलाई लक्षित गरी कुटपिट गर्नुका साथै ज्यान जोखिममा पर्ने किसिमको व्यवहार भएको दाबी गरेका छन् । उनका अनुसार घटनाभन्दा करिब एक साताअघि गौर ५ का व्यापारी सुरेन्द्र गुप्ताको पसलमा सशस्त्र प्रहरी बल नेपाल, गौर भन्सार गुल्मको टोलीले छापा मारेको थियो ।
उक्त क्रममा भारतबाट भन्सार छली गरी ल्याइएको चिनी बरामद भएको थियो । सोही घटनालाई लिएर आफूलाई आक्रमण गरिएको झाको दाबी छ । घटनापछि भारतको बैरगनिया प्रहरीमा उजुरी दिएको झाले बताएका छन् । त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटमा समेत उजुरी दिएपछि मात्रै आफ्नो घाउजाँच गरिएको उनको भनाइ छ ।
उजुरी र घाउजाँच भइसके पनि हालसम्म आरोपित पक्राउ नपरेको झाको गुनासो छ । ‘घटना सीमापार भए पनि नेपाली नागरिकमाथि भएको घटनाका विषयमा सम्बन्धित निकायबीच समन्वय गरेर अनुसन्धान अघि बढाउनुपर्छ,’ झाले भने, ‘उजुरी र घाउजाँच भइसकेपछि पनि आरोपित पक्राउ नपर्नु गम्भीर विषय हो ।’
‘पारिको घटना भन्दै प्रहरी पन्छिन खोज्यो’
नेपाल बुद्धिजीवी परिषद् रौतहटले झामाथि भएको भनिएको कुटपिट तथा दुर्व्यवहारको घटनालाई गम्भीर रूपमा लिँदै संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ ।
परिषद्का जिल्ला कार्यसमिति सचिव महम्मद अतिउल्लाहले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न भनिएका व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
सीमावर्ती क्षेत्रमा आवतजावत गर्ने नेपाली नागरिकमाथि कुटपिट तथा दुर्व्यवहारका घटना दोहोरिनु गम्भीर विषय भएको परिषद्ले जनाएको छ । पीडित पक्षले भने घटना भारतमा भएको भन्दै नेपाली प्रहरीले पन्छिन खोजेको आरोप लगाएको छ ।
नेपालमा उजुरी परेको र घाउजाँचसमेत भइसकेको अवस्थामा सम्बन्धित निकायले भारतीय सुरक्षा निकायसँग समन्वय गरी अनुसन्धानमा पहल गर्नुपर्ने उनीहरूको माग छ ।
‘दुई देशका सुरक्षा निकायबीच समन्वय आवश्यक’
नेपाल–भारत मैत्री संघका अध्यक्ष गृष नन्दनकुमार सिंहले सीमावर्ती क्षेत्रमा हुने यस्ता घटनामा नेपाल र भारतका सुरक्षा तथा प्रशासनिक निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् ।
सीमापार व्यापार, रोजगारी, उपचार तथा दैनिक आवतजावतका लागि भारतीय बजार जाने नेपाली नागरिकले कुटपिट, अपमान वा दुर्व्यवहार सहनुपर्ने अवस्था आउन नहुने उनको भनाइ छ । सीमावर्ती क्षेत्रमा हुने घटनालाई सामान्य रूपमा नलिई सम्बन्धित सुरक्षा निकायले संवेदनशीलताका साथ अनुसन्धान अघि बढाउनुपर्ने सिंहले बताए ।
घटनामा संलग्न भनिएका व्यक्तिहरू पक्राउ परी अनुसन्धान नभएसम्म कुटपिटको वास्तविक कारण र घटनाको सम्पूर्ण तथ्य स्पष्ट हुन नसक्ने भएकाले निष्पक्ष अनुसन्धान आवश्यक रहेको देखिन्छ ।
पीडित पक्षले आरोपितलाई पक्राउ गरी घटनाको सत्यतथ्य छानबिन गर्न र दोषी पाइए कानुनअनुसार कारबाही गर्न माग गरेको छ । सीमापार भएको भनिएको यस घटनामा नेपाल र भारतका सुरक्षा निकायबीच कस्तो समन्वय हुन्छ र आरोपितमाथि के कस्तो कानुनी प्रक्रिया अघि बढ्छ भन्ने विषय अहिले चासोको बनेको छ ।




