काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी (रामुपा) का महासचिव केशव झासहित नौ जना केन्द्रीय सदस्यले पार्टीको पदबाट राजीनामा दिएका छन् । पछिल्ला राजनीतिक घटनाक्रमले पुरानै शैली र पुरानै नेतृत्वबाट देशको राजनीति अघि बढ्न नसक्ने निष्कर्षसहित उनीहरूले शुक्रबार पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।
पार्टीबाट अलग हुनेमा महासचिव झासहित केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकजकुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिशिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राज रहेका छन् । उनीहरूले जारी गरेको विज्ञप्तिमा देशका जनता निराश रहेको र पटक–पटकका संघर्ष तथा आन्दोलनका बाबजुद जनताका न्यूनतम आवश्यकता पूरा हुन नसकेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘देशका सबै जनता निराश छन् । जति संघर्ष र आन्दोलन भए पनि जनताका न्यूनतम आवश्यकतासमेत पूरा भइरहेको अवस्था छैन । जुन जोगी आए पनि कानै चिरेका भन्ने कथन चरितार्थ हुँदै आएको छ ।’
उनीहरूले देशको परिस्थितिअनुकूल वैचारिक आधारमा बलियो अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने अर्थ–राजनीतिको बाटो अपनाउनु पर्ने बताएका छन् । त्यसका लागि सामाजिक तथा सांस्कृतिक चेतना विकासका लागि अभियानलाई निरन्तरता दिने, राजनीतिक चेतनाका लागि संघर्षमा जोड दिने र आर्थिक चेतनाका लागि विद्रोहको तयारी गर्ने विज्ञप्तिमा उल्लेख छ ।
महासचिव झाका अनुसार विचारसहितको विकल्प र विकल्पसहितको विद्रोहका लागि अबको राजनीतिक यात्रा ‘हुंकार मधेश अभियान’सँग अघि बढ्नेछ । विज्ञप्तिमा समाजका विभिन्न क्षेत्रका सक्षम र योग्य व्यक्तित्वलाई एकताबद्ध गर्दै विस्तृत योजनासहित छिट्टै सार्वजनिक रूपमा प्रस्तुत हुने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।




