रौतहट । नेपाली कांग्रेस रौतहटले पार्टीको १५ औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै वडा तहदेखि अधिवेशनको प्रक्रिया अघि बढाउने भएको छ । शनिबार गरुडास्थित जिल्ला कार्यसमितिको विस्तारित बैठकले आइतबारदेखि वडा अधिवेशनको प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।
जिल्ला सभापति सुनिलकुमार यादवको अध्यक्षतामा बसेको विस्तारित बैठकले वडा तहमा पार्टी संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने निर्णय गरेको जिल्ला कार्यसमितिले जनाएको छ ।
बैठकमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए । जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यसहित विभिन्न तहका नेता कार्यकर्ताको सहभागितामा बैठक सम्पन्न भएको हो ।
बैठकमा वडा तहदेखि पार्टी संगठनलाई चलायमान बनाउने, स्थानीय तहमा संगठनात्मक गतिविधि विस्तार गर्ने तथा नेता कार्यकर्ताबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
कांग्रेस रौतहटका अनुसार वडा अधिवेशन सम्पन्न भएपछि क्रमश: पालिका, क्षेत्रीय हुँदै जिल्ला अधिवेशनको प्रक्रिया अघि बढाइनेछ । १५ औँ राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन वडा तहदेखि नै संगठनलाई सुदृढ र व्यवस्थित बनाउँदै लैजाने रणनीति पार्टीले लिएको जनाएको छ ।
पार्टी नेताहरूले अधिवेशनलाई संगठन पुनर्गठनसँगै स्थानीय तहमा पार्टीको सक्रियता बढाउने अवसरका रूपमा अघि बढाउने बताएका छन् । यसैबीच, नेपाली कांग्रेस मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले पार्टीको १५ औँ राष्ट्रिय महाधिवेशन सफल बनाउन सम्पूर्ण नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक जुट्न आह्वान गरेका छन् ।
बैठकमा पार्टीको एकता, अनुशासन र संगठन सुदृढीकरणमा जोड दिँदै वडा अधिवेशनलाई उत्साहपूर्वक सफल बनाउन सबै क्रियाशील सदस्य, नेता तथा कार्यकर्तालाई आग्रह गरिएको थियो ।




