काठमाडौं । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको प्रेम र ब्रेकअप चर्चा अझै रोकिएको छ । आकाश र पूजा दुवैले ‘हामी प्रेममा थिएनौँ’ भनेर बारम्बार स्पष्टिकरण दिँदा पनि ‘तपाईँहरुको ब्रेकअप भएको हो ?’ भन्ने प्रश्नले उनीहरुको पिछा छोडेको छैन । किन टाढिएको ? भन्दै फ्यादेखि साथीभाइ, सञ्चारकर्मी सम्मले उनीहरुलाई सोध्ने गर्छन् ।
हिजो पनि एक कार्यक्रममा पुगेका आकाश–पूजा यस्तै प्रश्नले घेरिए । सुरुमा एउटा पत्रकारले प्रश्न सोधे – ‘तपाईँहरुको केही फ्यानहरुको समूहबाट एक जना डिप्रेशनमा हुनुहुन्छ, धेरै समयदेखि । एक जनाले सुसाइड प्रयास गर्नुभएको छ । यो दुई–तीन महिना यता तपाईँहरुको सम्बन्धमा आएको दरारको कारणले यस्तो कदम चालेको भनिएको छ । आकाश र पूजा प्रेमि–प्रेमिका हो कि होइन ? कुरा खुलस्त पार्न उहाँहरुले अनुरोध गर्नुभएको छ । हामी डिप्रेशनमा गइसक्यौँ भन्नुभएको छ । के तपाईँहरु साथीमात्रै हो ?’
यति लामो प्रश्नको जवाफ दिँदै पूजाले भनिन्, ‘रामकहानीबाट हाम्रो मित्रता सुरु भएको हो । अझै पनि हामी मिल्ने साथी नै हौँ । हामी सँगै नै छौँ । तर बिहे र प्रेमकै कुरा गर्ने हो भने, कतिबेला कोसँग कसको बिवाह हुन्छ थाहा हुँदैन । सबै कुराको सही समय आउनुपर्छ । प्लिज, माया गर्नुहुन्छ थाहा छ । तर आफूलाई हानी पुर्याउने काम केही नगरिदिनुहोला । किनभने तपाईँहरुलाई केही भयो भने हामीलाई पनि चित्त दुख्छ । बिवाह र प्रेम नभए पनि आकाश र पूजा सधैँ सँगै हुनेछ ।’
कार्यक्रममा ‘युद्ध बानियाँसँगको सम्बन्ध के हो ?’ भन्ने पनि प्रश्न गरेका थिए । पुजाले भनेकी छिन्, ‘त्यो नाम जोडिदिने मान्छेलाई नै थाहा होला । जुन दिन मेरो बिहेको कार्ड आउँछ, त्यो दिन हो सम्बन्ध खुलाउने भनेको । अहिले मेरो नाम कसैसँग पनि नजोडिदिनुस् ।’




