काठमाडौं । ‘द भ्वाइस किड्स’ कार्तिक दोस्रो साताबाट प्रसारण हुने भएको छ । विश्वका ११३ देशमा सञ्चालन भइरहेको फ्रेन्चाइज रियालिटी शो नेपालमा पनि भित्रिएको हो । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी शो को प्रसारणबारे जानकारी दिइएको हो ।
हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेदेिख हिमालय टीभीबाट ‘द भ्वाइस अफ किड्स’ प्रसारण हुने बताइएको छ । ‘द भ्वाइस किड्स नेपाल ’ मा ६ देखि १४ वर्ष उमेरभित्रका बालबालिका सहभागी छन् । अहिले बालबालिकाको प्रि अडिसन चलिरहेको छ ।
‘द भ्वाइस किड्स’को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी छन् ।
कार्यक्रममा उपस्थित कोचहरु राजु लामा, मिलन नेवार र प्रविशा अधिकारीले यो शोसँग जोडिन पाउँदा नयाँ अनुभूति भइरहेको सुनाए । उनीहरुले बालबालिकालाई आफूहरुले मूल्यांकन गर्ने भन्दा पनि उनीहरुको प्रतिभा निखार्न सहयोग गर्ने जानकारी दिए ।




