एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानका जेठो छोरा आर्यन खान लागुऔषधसम्बन्धी मुद्दामा मुम्बईको आर्थर रोड जेलमा छन् । मजिस्ट्रेड अदालतले आर्यनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको हो ।
आर्यनसहित आठ जनालाई अक्टोबर २ मा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को टोलीले मुम्बईबाट गोेवा जाँदै गरेको पानीजहाजबाट पक्राउ गरेको थियो । उक्त क्रुजमा ‘रेभ पार्टी चलिरहेको जानकारी पाएर छापा मारेको एनसीबीको दाबी छ ।
तर, आर्यनबाट एनसीबीले कुनै लागुऔषध फेला पारेको थिएन । उनीसँग पक्राउ परेका अरबाज मर्चेन्ट र मुनमुन धमेचाहरूबाट भने एनसीबीले लागुऔषध बरामद गरेको थियो । तर पनि आर्यनलाई उनीहरूसँग जेल पठाइयो ।
समग्र बलिउड उद्योगलाई बदनाम गर्न राजनीतिक जालझेल भइरहेको भन्दै बलिउडकर्मीहरूले आक्रोश पोखिरहेका छन् । आर्यनको पक्राउपछि चार पटक अदालतमा उनको मुद्दाको सुनुवाइ भइसक्दा पनि जमानत मिलेन ।
बुधबार (अक्टोबर १३) पाँचौँ पटक सुनुवाइ हुँदै छ । बलिउड लगायत हाइप्रोफाइल व्यक्तित्वहरूको वकालत गरिसकेका सतीश मानशिन्देले पनि आर्यनलाई जमानत दिलाउन सकिरहेका छैनन् ।




